आज प्रतिनिधिसभाको बैठक बस्ने

काठमाण्डौ । आज (आइतबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । झण्डै दुई सातापछि आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नुहुनेछ भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले बिमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जनाइएको छ ।