गाजामा दोस्रो चरणको युद्ध शुरु भएको इजरायलको घोषणा : गाजाको अवस्था भयावह

एजेन्सी । इजरायलले गाजामा दोस्रो चरणको युद्ध शुरु भएको घोषणा गरेकोे छ ।

स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर हमासको सुरुङमा आक्रमण शुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको बीबीसीले बताएको छ । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ ।
अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । अहिलेसम्म दुवैतर्फ गरी नौ हजारभन्दा धेरै मानिस मारिएका छन् ।

सेनाले आक्रमण बढाएसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । तर यो युद्ध निकै कठिन रहेको उहाँको भनाइ छ । मानवीय सहायतासम्बन्धी निकायहरूले गाजाको अवस्था भयावह रहेको चेतावनी दिएका छन् ।

यसैबीच राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्धविरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ । एक सय २० देशहरू त्यस प्रस्तावको पक्षमा रहे पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिएका छन् । अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गर्यो । चीनले पक्षमा मतदान गरेको छ । बेलायत सहभागी भएन । भारत तटस्थ रहेको छ ।