पश्चिम नेपालका यी जिल्लामा आज सराय नाँच नाँचियो

काठमाण्डौ । पश्चिम नेपालका अर्घाखाँची, गुल्मी, प्युठान, पाल्पा, स्याङ्जा, कपिलवस्तु, दाङ, रुपन्देही लगायतका जिल्लामा आज सराय नाँच नाँचिएको छ । यी जिल्लामा दशैँको टीकाको भोलिपल्ट एकादशीदेखि पूर्णिमासम्म कोतघर, दुर्गाभगवतीका शक्तिपीठमा पञ्चेबाजा बजाउने गरिन्छ ।

हतियार नचाएर नाचिने सराय नाँच आज शनिबार अर्घाखाँचीको खाँचीकोट र ठाडाको कालिका भगवती मन्दिर, गुल्मीको धुर्कोट लगायतमा नाँचिएको थियो । अर्घाखाँचीको अर्घादरबारमा त्यस क्षेत्रकै ऐतिहासिक सराय जात्रा लाग्ने गर्दछ । अर्घाभगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार सराय नाँचको छुट्टै महत्त्व र इतिहास रहेको छ ।

किम्वदन्तीअनुसार देवीले महिषासुरको वध गरेपछि त्यसलाई विजय प्रतीक मानेर देवीको गुणगान गाउँदै सराय नाँच नाँच्न थालिएको हो । बाइसे-चौबिसे राजा बस्ने दरबार र कोतघरमा सराय नाँचेर पूर्णिमाको दिन दशैँ बिदा गर्ने यस क्षेत्रको चलन रहेको छ ।