महोत्तरीमा दशैँ मेलामा विवाद हुँदा एक युवकको हत्या, दुई भारतीय पक्राउ
काठमाण्डौ । महोत्तरीमा दशैँ मेलामा विवाद हुँदा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका– ५ का १९ वर्षीय आशिक भन्ने बसन्त पासवानको हत्या भएको हो ।
पासवानको शव स्थानीय जगदीश शाहको धान खेतमा हिजो (बिहीबार) साँझ फेला परेको थियो । घटनालगत्तै प्रहरीले हत्यामा संलग्न दुई भारतीय युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्लाका १९ वर्षीय दीपक मल्लिक र १८ वर्षीय अमित मल्लिक छन् । नेपालस्थित सानीआमाको घर आएका उनीहरुले उक्त घटना घटाएका हुन् ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार मेलामा सिक्रीको विषयमा विवाद भएपछि पासवानलाई सुनसान ठाउँमा लगेर छुरा प्रहार गरी हत्या गरेको पक्राउ परेका दुवैजना स्वीकारेका छन् । घटनाबारे थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको डीएसपी गिरीले बताउनुभयो ।
त्यस्तै, हिजो नै जनकपुरधाम– २३ मा पनि हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । तर, हत्या भएको आशंका गरिए पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।