अध्यक्ष ओलीविरुद्ध भ्रामक प्रचार गर्नेमाथि कानूनबमोजिम सरकारले दण्डित गरोस् : विष्णु पौडेल
काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गर्ने तथा चरित्रहत्याको खेती गर्नेमाथि कानूनबमोजिम कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
उपाध्यक्ष पौडेलले एमाले अध्यक्ष ओलीविरुद्ध भ्रमपूर्ण प्रचार गर्ने अपराधकर्ममा संलग्नहरुलाई दण्डित नगरे सरकारको नियतमाथि प्रश्न उठ्नेसमेत बताउनुभएको छ ।
पछिल्लो समय बैंकको ऋण नतिर्ने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेकोलगायतका आरोप लगाएका छन् । ओली नेतृत्वमा नेपालले चुच्चे नक्सा जारी गरेपछि भारतीय मिडियाले ३ वर्षअघि प्रसारण गरेको फेक रिपोर्टलाई उद्धृत गर्दै प्रसाईंले ओलीमाथि आरोप लगाएका भिडिओहरु भाइरल छन् ।
एमालेले प्रसाईंको भ्रमपूर्ण अभिव्यक्तिलाई आपराधिक कार्य भन्दै कानूनबमोजिम कारबाहीको लागि सरकारको ध्यानाकर्षण गराएको छ । ओलीले गणतन्त्र र धर्मनिरपेक्षको विकल्पमा अहिले कोही जान नसक्ने भन्दै राजतन्त्र फर्किन सम्भव नरहेको अभिव्यक्ति दिएपछि राजावादीहरुले नियोजित आक्रमण थालेको एमालेको दाबी छ ।
उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘अहिले देशलाई अस्थिरता र द्वन्द्वमा लैजान खोज्ने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले एमालेलाई कमजोर पारेरमात्र आफ्नो अभिष्ट पूरा हुने देखेका छन् । एमालेलाई कमजोर पार्न अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्नुपर्छ भन्ने उनीहरुको बुझाइ हो र हाम्रो नेतृत्वविरुद्ध चरित्रहत्याको प्रयास तिनीहरुले थालेका छन् । एमालेलाई कमजोर पार्ने र अन्ततः राष्ट्र र जनताको हितलाई अवरोध गर्ने षडयन्त्र हामीले बुझेका छौं । नेकपा एमालेको समस्त पंक्ति, आम नेपाली जनता यस्ता प्रायोजित भ्रमहरु चिर्न, त्यस्ता षड्यन्त्रकारीलाई परास्त गर्न र पार्टीको मुख्य नेतृत्व अध्यक्ष कमरेड केपी ओलीको रक्षा गर्न सक्षम छन् । सबै प्रकारका लाञ्छना र प्रहारलाई परास्त गर्दै अविचलित भएर अघि बढ्न हामी संकल्पबद्ध र सक्षम छौं ।’
उपाध्यक्ष पौडेलले एमालेलाई कमजोर पार्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विगतमा पार्टीभित्रैका अवसरवादी र स्वार्थी तत्वहरुलाई प्रयोग गरेर विभाजनको प्रयास गरेकोसमेत बताउनुभयो । उहाँले केपी ओलीको नेतृत्वमा एमाले अझ बढी एकताबद्ध र बलियो बनेर अघि बढेपछि मूल नेतृत्वमाथि प्रहार गर्न योजनाबद्ध र संगठित प्रयास भइरहेको समेत बताउनुभएको छ ।