चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमै पुगेर भत्ता वितरण
काठमाण्डौ । इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीसहितको जनप्रतिनिधि र कर्मचारीको टोलीले आफ्नो वडाका सम्पूर्ण लाभग्राहीको घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो ।
दशैँको समयमा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले घरघरमै पुगेर सेवा प्रदान गरेको वडाध्यक्ष उप्रेतीले बताउनुभयो । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घरमै पुगेर लाभग्राहीलाई प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुने भएका कारण वडा कार्यालयले सहजीकरण गर्दै वडाको माथिल्लो क्षेत्र स्याक्लाङ, पातिघारी, बाझगाउँ, कमलाबारी, कुरनभित्ता, बेलडाँडा, सोतागाउँलगायत ठाउँका घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष उप्रेतीले बताउनु भयो ।
पछिल्लो समय सरकारको निर्देशानुसार पालिकाले अनिवार्यरुपमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको अनिवार्य बैंकमा खाता खोली बैंकबाट वितरण गर्नुपर्ने हुँदा सेवाग्राहीलाई असहज भएकाले कतिपय स्थानीय सरकार र वडा कार्यालयले बैंकसँग सहकार्य गर्दै बैंकको कर्मचारीसहित गाउँघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् ।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूसहित वडासदस्यलाई समेत परिचालन गरिएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।