दशैँले राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समस्त नेपाली जनमा दशैँको शुभकामना दिनुभएको छ । हिजो (आइतबार) एक सन्देशमार्फत् उहाँले दशैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मकरूपमा एक बनाएको बताउनुभएको हो।

बडादशैँले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।

‘समाज तथा यातायात र सञ्चारको विकास एवं जीविकोपार्जनका माध्यममा आएको परिवर्तनका कारण मीठो खान, राम्रो लगाउन र आफन्तसँग भेटघाट गर्न अब दशैँको प्रतीक्षा गरिरहनु पर्दैन । तथापि देशविदेशमा छरिएका परिवारका सदस्यबीचको पुनर्मिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिनेजस्ता मौलिक परम्पराले गर्दा बडादशैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ’, पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडादशैँ पर्वको आर्थिक र सामाजिक पक्षसमेत उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै उहाँले देश र परदेशमा रहेका परिवारका सदस्यहरू भेला भएर मान्यजनबाट टीका र जमरासहित आशीर्वाद लिने पर्वका रूपमा दशैँले नेपालको असल सांस्कृतिक परम्परालाई निरन्तरता दिएको बताउनुभएको छ ।