नयाँ जहाज किन्न नेपाल वायुसेवा निगमले गर्यो बोलपत्र आह्वान
काठमाण्डौ । नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न आज (आइतबार) बोलपत्र आह्वान गरेको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जानकारी गराउनुभएको थियो ।
निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको मन्त्री किराँतीको भनाइ छ । नेपाल वायु सेवा निगमसँग अहिले आन्तरिक उडानमा दुईवटा ट्वीनअटर जहाज छन् ।
यस्तै, निगमले सुगम क्षेत्रमा उडान भर्नको लागि थप दुई वटा जहाज खरिद प्रक्रिया अघि बढाउने तयारी रहेको बताएको छ । भएकै जहाज पनि सञ्चालन गर्न नसकेको निगम अहिले ४८ अर्ब रुपैयाँ ऋणमा डुबेको छ । तर मन्त्री किराँतीले निगमको अवस्था सुधारको लागि जहाज अनिवार्य रहेको बताउँदै आउनुभएको छ ।
निगमलाई बलियो बनाउन र अनियन्त्रित हवाईभाडा नियन्त्रणका लागि थप जहाज चाहिएको मन्त्री किराँतीले सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आउनुभएको छ । निगमले भएकै जहाज पनि पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको छैन ।
निगमसँग अहिले दुईवटा वाइडबडी, दुई वटा न्यारो बडी, दुई वटा ट्वीनअटर गरी ६ वटा जहाज छन् । यसअघि किनिएका ६ वटा चिनियाँ जहाज १० वर्षदेखि ग्राउन्डेड छन् । नेपाल वायुसेवा निगमले सन् १९५८ देखि उडान थालेको हो । निगमको संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले सोल्टी होटलको शेयर बेचेर जहाज किन्न सुझाएको थियो ।
निगमले आज खुलाएको बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ तारिखसम्म छ ।