जापानलाई हराउँदै एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपालको स्थान पक्का
काठमाण्डौ । हिजो (शनिबार) भएको एसीसी यू–१९ को प्रिमियर कप क्रिकेटमा नेपालले जापानलाई हराउँदै फाइनलमा पुगेको छ । नेपालले जापानलाई १ सय ४३ रनले पराजित गरेको हो ।
वर्षाले प्रभावित भएको खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनको लक्ष्य पाएकोमा ११ ओभर ५ बलमा ४३ रनमै अलआउट भएको थियो । जापानका शोतारो हिरात्सुकाले १५ र किफर यामामोटोले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका हेमन्त धामी र दिपेश कँडेलले ३/३, तथा सुवास भण्डारीले २ र आकाश चन्दले १ विकेट लिए ।
यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । नेपालका दीपक बोहरा ७९ रन बनाएर आउट भए । यस्तै आकाश त्रिपाठीले नटआउट ३५ रनको योगदान दिए ।
फाइनलमा पुगेसँगै नेपालले अब पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्ने पक्का भएको छ । यस्तै ,अर्काे सेमिफाइनल खेलमा सिङ्गापुरलाई हराउँदै फाइनलमा पुगेको यूएईले पनि यू–१९ एसिया कप खेल्ने पक्का भएको छ । यू–१९ एसिया कपमा पुग्ने तेस्रो टोलीको टुङ्गो जापान र सिङ्गापुरबीचको खेलको विजेताबाट लाग्नेछ । यो खेलको विजेताले शीर्ष ३ मा पर्दै यू–१९ एसिया कप खेल्न पाउनेछ ।