मौसम पूर्वानुमान महाशाखा : दशैँको दिन पानी पर्ने सम्भावना छैन

काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यद्यपी, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै भोलि (आइतबार) पनि देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

यसवर्ष नेपालमा मनसुन केहि ढिलागरी बाहिरीएको हो । दशैँमा पानी पर्ने धेरैजनाले आशंका गरीरहेको भएपनि दशैँमा पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबीचमा पहाडी क्षेत्रका एक÷दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान गरीएतापनि आजदेखि टीकाको दिन अर्थात मङ्गलबारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । नेपालमा जाडोयाम सुरु भइसकेकाले बिहान बेलुका चिसो बढेको छ । तर दिउँसो भने गर्मी नै छ ।