राष्ट्रपतिबाट आममाफी पाएको महिनादिन नबित्दै हत्यामा संलग्न
काठमाण्डौ । संविधान दिवसमा आममाफी पाएर जेल मुक्त भएको महिनादिन नबित्दै रुकुम पश्चिमका लोकेन्द्र भनिने लोकबहादुर बिकले महिलाको घाँटी रेटेर हत्या गरेका छन् ।
राष्ट्रपतिबाट बाँकी सजाय माफी पाएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ९ सिम्ली बस्ने ३३ वर्षीय लोकबहादुरले जिल्लाकै मुसीकोट नगरपालिका ७ साँखकी २८ वर्षीय भावना विकको हत्या गरेका हुन् । भावनाको हत्यामा लोकबहादुरको संलग्नता खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मंगलबार बिहान खलङ्गाको सत्कार होटेलको १ नम्बर कोठामा भावनाको शव फेला पारेको थियो । सो घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा लोकबहादुरको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।
उनीहरूबीचको कल डिटेल र होटेलमा कोठा लिँदा उल्लेख गरेको मोबाइल नम्बरबाट लोकबहादुरको घटनामा संलग्नता खुलेको डीएसपी भट्टराईले बताउनुभयो ।
लोकबहादुर यसअघि बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए । तर, कारागारभित्र असल चरित्र देखाएकाले उनले ६ महिना कैद भुक्तान गर्दै गर्दा गत असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय मिनाहा पाएर रिहा भएका थिए ।
भावना र लोकबहादुरको भेट कारागारम पनि हुने गरेको प्रहरीले खुलाएको छ । भावना लोकबहादुरलाई भेट्न २ पटक जिल्ला कारागार पुगेको पाइएको डीएसपी भट्टराईले जानकारी दिनुभयो । लोकबहादुरले भावनाको हत्या स्वीकार गरेको प्रहरीको भनाइ छ । विवाद बढ्दै गएपछि भावनाको छातीमा प्रहार गरेको र उनी लडेपछि चक्कुले गला रेटेको बयान दिएको र चक्कुसमेत साथैमा रहेका कारण हत्या पूर्वयोजनाअनुसार नै भएको देखिएको डीएसपी भट्टराईको भनाइ छ ।
उहाँका अनुसार उनीहरु २८ गते होटेलको कोठा लिएर बसेको र २९ गते बिहान १० देखि ११ बजेको बीचमा घटना भएको हो । भावनाले होटेलमा कोठा लिँदा त्यसमा आफ्नो श्रीमान् भनी विकास केसीको नाम उल्लेख गरेको तर नम्बर भने लोकबहादुरको राखेको प्रहरीको भनाइ छ । नाम झूटो लेखे पनि नम्बर भने सही लेखिएकाले भेटाउन सजिलो भएको हो । भावनाले ‘विवाह गरौ’ भनेपछि आफूले घटना घटाएको लोकबहादुरले प्रहरीलाई बयान दिएका छन् । त्यस्तै, उनीहरूबीचमा आर्थिक कारोबार रहेको प्रहरीको भनाइ छ । लोकबहादुरले भावनालाई उनका श्रीमान् विदेश जाँदा ५ लाख रुपैयाँ सापटी दिएको बताएका छन् ।
उनीहरूबीच गत स्थानीय तह निर्वाचनका क्रममा चिनजान भएको खुलेको छ । २०७९ को वैशाखमा भएको स्थानीय तह निर्वाचनका क्रममा भावना म्यादी प्रहरी भएको र प्रहरी चौकी सिम्लीमा खटिएका बेला उनीहरूबीचमा चिनजान भएको प्रहरीले जनाएको छ । म्यादी भएका बेला भावनाले लोकबहादुरको होटेलमा खाना खाने गरेको र त्यसपछि र त्यसपछि सम्बन्ध सुरु भएको थियोे ।
घटनास्थलबाट रगत लागेको चक्कु १ थान, घटनास्थल रहेको कोठाको डस्वीनबाट चक्कुको खोल एक थान, होटेलको इन्ट्री किताबमा दर्ता गरिएको नम्बर प्रयोग भएको मोबाइल र प्रतिवादीको घरको कोठाबाट ८५ हजार ८३५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पीडित परिवारबाट आएको किटानी जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान चलिरहेको छ । मृतककी सासूआमा उजेली कामीले कर्तव्य ज्यान मुद्दा शीर्षकमा किटानी जाहेरी दिएकी थिइन् । सोही आधारमा मुद्दा दर्ता गरी प्रतिवादीलाई जिल्ला अदालतबाट स्वीकृति लिई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
लोकबहादुर बाहिर निस्केको एक महिना नहुँदै यस्तो घटनामा संलग्न भएपछि गम्भीर अपराधमा जोडिएकालाई आममाफी दिएर आलोचित भएको सरकार र सिफारिस गर्ने राष्ट्रपतिमाथि अब थप आलोचना हुने भएको छ ।