दशैँको पाँचौं दिन आज स्कन्दमाताको पूजाआजा गरिँदै
काठमाण्डौ । बडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको विधिपूर्वक पूजाआजा गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमकाअनुसार स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।
घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ । यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ ।
प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।
दशैँको पाँचौं दिन आज पनि देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा बिहानैबाट भक्तजनहरुको भीड लागेको छ ।
राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भिड लागेको छ ।
उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा र गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर भक्तजनको भीड लाग्ने गर्दछ । महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो