विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित

काठमाण्डौ । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के एन्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केबलकार बनाउने भएको हो ।

इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता केही समयअघि गरेसँगै परियोजना बनाउनका लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको मुक्तिनाथका अध्यक्ष अरुण सुवेदीले बताउनुभयो । उहाँले ईपीसीएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ केबलकार नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उल्लेख गर्नुभयो । समझदारीअनुसार कुल लागतको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपैयाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने अध्यक्ष सुवेदीले बताउनुभयो ।

उहाँले मुक्तिनाथ केबलकार परियोजना बनाउनका लागि बाँकी २० प्रतिशत वित्तीय स्रोत नेपाल र बाहिरी कम्पनीहरूले ’इक्विटी’ को रूपमा जुटाउने बताउनुभयो । आयोजना बनाउनका लागि ९० प्रतिशत जग्गा खरिद गर्ने काम सकिएको भन्दै बाँकी १० प्रतिशत पनि लिने प्रक्रिया सुरु भइसकेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष सुवेदीले मुक्तिनाथ केबलकार बनिसकेपछि गिनिजबुकमा नाम रहने बताउनुभयो । आयोजना सम्पन्न भएपछि ७० अर्ब रुपैयाँसम्म देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदान गर्ने र नौ अर्ब रुपैयाँ सरकारलाई राजस्व जाने उहाँको भनाइ छ । के एन्ड आर रेलका अध्यक्ष कुरु प्रविर कार्रलाले मुक्तिनाथ केबलकार परियोजना बनाउन चुनौती र समस्या भए पनि आफूहरू सक्षम रहेको बताउनुभयो । मुक्तिनाथ केबलकार बनेपछि त्यस क्षेत्रमा पर्यटनको ठूलो सम्भावना हुने उहाँको भनाइ छ ।

मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम सकिएको दुई वर्ष भइसकेको छ । यस्तै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथले केबलकारको डीपीआर तयार पारि २०७८ कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो ।

केबलकारमा ‘टप टु बटम’ १९ वटा स्टेशन हुनेछन् । तीमध्ये आठ वटा स्टेशनमा अनिवार्य ओर्लिनुपर्ने छ । पाँचवटा स्टेशनमा अत्यावश्यक भए मात्र ओर्लिन पाइने र अन्य ११ वटा स्टेशनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाइ ८० दशमलव १५ किलोमिटर हुनेछ । केबलकारमा सात सय ७६ वटा गोन्डोला राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबलकार एक हजारदेखि तीन हजार सात सय मिटर उचाइसम्म पुग्नेछ । प्रत्येक स्टेशनमा रिसोर्ट बनाउने योजना पनि छ ।