आगामी शुक्रबारसम्म नयाँ नोट साट्न पाइने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज पनि निरन्तरता दिँदैछ ।

गत सोमबारदेखि राष्ट्रबैकले नयाँ नोट सटही गर्न सुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा आगामी शुक्रबार अर्थात कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

नयाँ नोटका लागि काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा ब्ववस्थापन विभाग, राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकेको शाखाबाट सटही भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्ने व्यवस्था मिलाईएको राष्ट्र बैंकले जनाएको छ ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । बैंकहरुले सटही गर्दा ५, १०, २०, ५० को र १०० रुपैयाँ दरको एक/एक प्याकेट उपलब्ध गराइरहेका छन् ।