चालु आर्थिक वर्षमा मुद्रास्फीति ८.१९ प्रतिशत पुग्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो २ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गएको भदौ मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत पुगेको छ । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
राष्ट्र बैंकको गएको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार मरमसलामा ४५.४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ । त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७.८६, तरकारीमा १४.५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ र दुग्ध पदार्थ तथा अण्डामा १२.६० प्रतिशत मूल्य बढेको छ । यो अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने १३.०८ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५, विविध वस्तु तथा सेवाहरू १२.२१ प्रतिशत, शिक्षा क्षेत्रमा ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुमा ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ६.५९ प्रतिशतले मूल्य बढेको छ । भदौ मसान्तसम्ममा यातायात क्षेत्रको मुद्रास्फीति ०.१८ प्रतिशतले घटेको छ ।
यो अवधिमा काठमाण्डौ उपत्यकाको मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत रहेको छ ।