राजनीतिक दल चुनाव लक्षित हुनुहुँदैन : सभापति लामिछाने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताउनुभएको छ ।

आज (सोमबार) बाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताउनुभएको हो ।

उहाँले राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको बताउनुभयो । उहाँले परिवर्तनका लागि सारा जीवन बिताएका नेताहरूप्रति कहिले काहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उहाँहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना नरहेको प्रष्ट पार्नुभयो । उहाँले परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय आफूहरूको नरहेको पनि बताउनुभएको छ ।

सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताउनुभयो । उहाँले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास नहुँदा समस्या आएको बताउनुभएको छ ।