४३ औँ विश्व खाद्य दिवस आज, विश्वभर भोकमरीको अवस्था झनै भयावह बन्दै
काठमाण्डौ । आज ४३ औँ विश्व खाद्य दिवस, “जीवन र खाद्यको आधार हो पानी” भन्ने नाराका साथ मनाइँदै छ । नेपालमा पनि यो दिवस आज विभिन्न जनचेतनामूलक कार्यत्रकम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको आह्वानमा हरेक वर्ष अक्टोबर १६ तारिखमा यो दिवस मनाइन्छ । विश्वभरि खाद्यान्न सङ्कट र भोकमरी विरुद्ध ऐक्यबद्धता जनाउँदै यो दिवस मनाउने गरिन्छ । नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो ।
नेपालको संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । तर, किसानलाई कृषि गर्न प्रोत्साहन नदिनु, उनीहरुले उत्पादन गरेका वस्तुले बजार नपाउनु तथा उत्पादन बढाउन पहल नहुनु जस्ता कारणले खाद्यान्नको आयात बढ्दो छ । नेपालमा सजिलै उत्पादन हुने गेडागुडी, मासु, तरकारी र फलफूल समेत आयातको सूचीमा छन् ।
यस्तै, जलवायु परिवर्तनलगायतका कारण विश्वमा खाद्य प्रणालीसहित मानव जीवनका आर्थिक, सामाजिकलगायत सबैजसो पक्षहरुमा असर परिरहेको छ । खेती श्रोतको कमी, मौसम प्रकोप र द्वन्द्वलगायत कारणले विश्वमा अन्नपातको समस्या बढ्न थालेको छ । बेलैमा यी सबै समस्याको निवारण नगर्ने हो भने विश्वभर भोकमरीको अवस्था झनै भयावह हुने सम्भावना छ ।
राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको पछिल्लो प्रतिवेदनका अनुसार, विश्वमा ८० करोड नागरिक पोषणयुक्त खानाबाट टाढा देखिएका छन् । खाद्य दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खाद्य अधिकार र खाद्य सम्प्रभुता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।