पूर्वअर्थमन्त्री पौडेल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन नसकेको टिप्पणी

काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सत्तारुढ गठबन्धन दलको सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको बताउनुभएको छ ।

उहाँले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन नसकेको टिप्पणीसमेत गर्नुभएको छ । आज (आइतबार) प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको एक कार्यक्रममा उहाँले मुलुकमा संकटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्ने विषयमै केन्द्रित रहेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र सुधार हुँदैछ भनेर गलत बोलिरहेको उहाँको दाबी छ । नेपाल तस्करी केन्द्रका रूपमा परिचित भएको भन्दै उहाँले क्विन्टल सुन प्रकणमा सरकारले उच्चस्तरीय संसदीय समिति बनाउन आनाकानी गरेपनि एमालेको निरन्तर दबाबले गठन भएको पनि जिकिर गर्नुभयो ।

त्यस्तै, नेता पौडेलले कोशीमा एमालेका नेता हिक्मत कार्कीले निकास दिन मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको दाबी गर्नुभयो । पटकपटक कीर्ते गरेर थाकेका गठबन्धन दलहरु बाध्य भएर अहिलेको सरकारलाई साथ दिएको सबै प्रमाणले प्रष्ट पारेको उहाँले बताउनुभयो । साथै विद्रोही कांग्रेसको टोलीले राम्रो काम गरे एमालेको साथ पाउने उहाँले थप प्रष्ट पार्नुभयो ।