नेपालबाट १३ दिन ढिला गरी बाहिरियो मनसुन
काठमाण्डौ । यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । असोज १९ गते पश्चिम नेपालबाट बाहिरिन थालेको मनसुन आज (आइतबार)देखि देशभरबाट बाहिरिएको मौसम पूर्वानुमान माहाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ ।
यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी गएको जेठ ३१ गते भित्रिएको थियो । नेपालमा एक सय २४ दिन रहेर मनसुन बाहिरिन्छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो तर यो वर्ष मनसुन १३ दिन ढिला गरी बाहिरिएको हो ।
नेपालमा यस वर्ष मनसुन अवधिमा ८८.५ प्रतिशत वर्षा भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिनुभयो । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो । नेपालमा मनसुन अवधिमा सरदर १ हजार ४ सय ७२ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष मनसुन अवधिमा १ हजार ३ सय ३ मिलिमिटर वर्षा भएको हो ।
यस वर्ष मधेश प्रदेशमा औसतभन्दा निकै कम वर्षा भएको छ भने काठमाण्डौसहित पहाडी क्षेत्रमा सरदरभन्दा केही बढी वर्षा भएको छ ।