चालु आर्थिक वर्षमा १० वटासम्म जहाज खरिद गरिने पर्यटनमन्त्री किरातीको भनाइ

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का लागि १० वटासम्म जहाज खरिद गरिने बताउनुभएको छ ।

मन्त्री निवास पुल्चोकमा आज (आइतबार) नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ज्ञापनपत्र बुझ्दै उहाँले निगमको जहाज थपेर भाँडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । दशैँअघि नै औपचारिकरूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन १० वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको औंँल्याउनुभयो ।

निगमले आन्तरिक उडानका लागि तीनवटा ट्विनअटर जहाज खरिद गर्ने अन्तिम तयारी गरेको छ । ती जहाज निगमको आन्तरिक स्रोतबाटै खरिद गर्नेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर जहाज मात्रै छन् । ती जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएका छन् । पर्यटनमन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एअरलाइन्सको विमान दशैँभरी सञ्चालन गर्ने जानकारी दिनुभयो ।

मन्त्री किरातीले चाडबाडका बेला हुने कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल र समन्वय गर्ने पनि बताउनुभएको छ ।