शुद्धीकरणका विषयमा तालाबन्दीमा नउत्रन पत्रकार महासंघका अध्यक्ष पोखरेलको आग्रह
रूपन्देही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सदस्यता शुद्धीकरणका विषयमा तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले दशैँ, तिहार, छठ र नेपाल संवत पर्वको अवसरमा आज (आइतबार) बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शुद्धीकरणको बिषयलाई लिएर तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गर्नुभएको हो ।
प्रेस चौतारीले शुद्धीकरणको बिषयलाई लिएर ठाउँ ठाउँमा तालाबन्दी गरेकोतर्फ संकेत गर्दै संवाद र वार्ताबाट निकासमा जान सकिने अध्यक्ष पोख्रेलले धारणा व्यक्त गर्नुभयो ।
उहाँले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले टाउका गनेर हिसाकिताबमा मात्रै सीमित नहुन समेत आग्रह गर्नुभयो ।
अध्यक्ष पोख्रेलले नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यको विकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने बताउनुभएको छ । विगतमा निषेध गरिएपनि अब त्यसो हुन दिन नहुने उहाँको भनाई छ । कोही मिलेर कसैलाई सक्ने नभई सबैलाई समेटेर लैजानका लागि शुद्धिकरण गरिएको उहाँको दाबी छ । उहाँले पछिल्लो समय सरकार सरकारजस्तो नहुने, संसद संसदजस्तो नभएको बताउँदै अदालत, प्रहरी, कर्मचारी संयन्त्र जताततै प्रश्न उठ्दा पत्रकार महासंघले आफैबाट शुद्धिकरण थालेको स्पष्ट पार्नुभयो ।
उहाँले मोफसलको पत्रकारितामा बुटवल नै राजधानी रहेको बताउँदै त्यसका लागि पूर्वाधार निर्माण गर्ने गरी योजना बनाउन अपिल गर्नुभएको छ । उहाँले बुटवलको मोफसलमा पत्रकारिताको राजधानीका रुपमा परिचित गराउने गरी नयाँ पुस्तालाई चिनाउने गरी योजनाबद्ध तरिकाले काम गर्न आग्रह गर्नुभएको छ ।
साथै दशैं, तिहार, छठ र नेपाल सम्वत जस्ता पर्वहरुले सञ्चारक्षेत्रको विज्ञापन बजारको प्रवद्र्धन गर्नुपर्नेमा अध्यक्ष पोखरेलले जोड दिनुभएको छ ।