एमाले अध्यक्ष ओलीलाई भेट्न कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की बालकोटमा
काठमाण्डौ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएकै दिन काठमाडौं आइपुगेका केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
(शनिबार) साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएसँगै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उहाँको निवास पुग्नुभएका कार्की त्यसपछि ओली निवास बालकोट पुग्नुभएको थियो ।
नेकपा एमालेको सहयोगमा संविधानको धारा (१६८) को उपधारा (५) अन्तर्गत कोशीमा मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने तयारी छ । कांग्रेसबाट विद्रोह गर्नुभएका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एकजना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गर्नुभएको छ । कार्की नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।