हिन्दूहरूको महान् पर्व बडादशैं आज देखि सुरु, घटस्थपना गर्ने साइत आज बिहान ११ बजेर २९ मिनेटमा
काठमाण्डौ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरूको महान् पर्व बडादशैं आज देखि सुरु भएको छ ।
धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गर्ने र जमरा राख्ने परम्परा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै छ ।
दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआरधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, घटस्थपना गर्ने साइत आज बिहान ११ बजेर २९ मिनेटमा परेको छ । आजको दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने प्रचलन छ । नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ । आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।
उपत्यका लगायत देशैभरका देवी मन्दिरह लगायत शक्ति पीठहरुमा विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते मंगलबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।
यस वर्ष कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा र टीका जमरा ग्रहण गर्ने उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ ।