आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हरायो
काठमाण्डौ । जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ ।
नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानले दिएको १ सय ९२ रनको लक्ष्य भारतले मात्रै ३ विकेट गुमाएर भेटाएको हो । भारतका लागि रोहित शर्माले ८६ रन बनाए । भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । जसकालागि कप्तान बाबर आजमले ५० रन बनाए ।
यस्तै, मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए । एक सय ५५ रन बनाउँदासम्म पाकिस्तानको दुई विकेट मात्रै गुमेको थियो । बाँकी ३६ रन बनाउँदा उसका सबै खेलाडी आउट भए । भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २÷२ विकेट लिए । यो विश्वकपमा भारतले तीन खेल खेलेकोमा सबैमा जित निकालेको छ भने पाकिस्तानले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ ।
भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा आजसम्म ८ खेल भएकोमा सबै खेल भारतले जितेको छ । तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ ।