विश्वका गम्भीर समस्या समाधान गर्न एसियाली राजनीतिक दलहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने एमालेका अध्यक्ष ओलीको भनाई
काठमाण्डौ । विश्वका गम्भीर समस्या समाधान गर्न एसियाली राजनीतिक दलहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।
आज (शनिबार) अध्यक्ष ओलीले एसियाली राजनीतिक दलहरुको अन्तराष्ट्रिय सम्मेलन (आइक्याप) को स्थायी समितिको चौधौं बैठक एवं एसिया–युरोप राजनीतिक मञ्चको पाँचौ बैठकलाई सम्बोधन गर्दै एसियाली राजनीतिक दलका हैसियतले विश्व आर्थिक मामिलामा एसियाको प्रभावकारी भूमिका बढाउन प्रयत्नशील रहँदा, विश्वका गम्भीर समस्या समधान गर्न समेत नेतृत्वदायी भूमिका खेल्ने संकल्प गर्नुपर्ने बताउनुभएको हो । सबै द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय अन्तराष्ट्रिय मञ्चका सरोकारवालाहरुसंग साझा चासो र पारस्परिक लाभका बिषमा सहकार्य गर्न चाहेको अध्यक्ष केपी शर्मा ओलीलको भनाई छ ।
विदेश मामिलामा सार्वभौम समानता, पारस्परिक लाभ, न्याय र निष्पक्षताले निर्देशित गरेको भन्दै उहाँले सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने सिद्धान्तमा एमालेको अटल विश्वास रहेको धारणा राख्नुभयो । अध्यक्ष ओलीले नेपालमा परिपूर्ण लोकतन्त्रको अवधारणा अवलम्बन गर्दै नेपाली जनताको सुख र समृद्धिको आकांक्षा पूरा गर्नुलाई सबैभन्दा ठूलो कार्यभार मानेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा राजनीति र राजनीतिक दलको निरन्तर प्रयत्नबाट मुलुकमा आत्म–निर्णयको अभ्यास गर्न सक्षम भएको र मानवअधिकार र मौलिक स्वतन्त्राको प्राप्ति सम्भव भएको बताउनुभयो ।