कोशीमा मुख्यमन्त्री नियुक्ति नगर्न दबाब, दुवै पक्षलाई सनाखतका लागि भोलि बोलाइयो

काठमाण्डौ । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि आज (शुक्रबार) को डेडलाइन टरेको छ ।

आफैैंले दिएको समय सकिएपछि पनि बहुमत सांसदको हस्ताक्षरसहित उपस्थित भएका केदार कार्की पक्षलाई सनाखत गरेरमात्र नियुक्ति गर्ने अडान प्रदेश प्रमुखले लिएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले साँझ सूचना जारी गर्दै भोलि (शनिबार) बिहान ८ देखि २ बजेसम्म दुवै पक्षका दाबीकर्तालाई सनाखतका लागि बोलाइएको छ ।

केन्द्रमा कांग्रेस बैठकमा प्रधानमन्त्री प्रचण्ड समेत सहभागी भएर कांग्रेसबाटै अर्को नाम दिन वा गठबन्धनका उम्मेदवार इन्द्र आङ्बोलाई समर्थन गर्नका लागि गरिएको आग्रह डा.शेखर कोइरालाले नमानेपछि प्रदेश प्रमुखलाई आज नियुक्ति नगर्न दबाब परेको थियो ।

केन्द्रबाटै गठबन्धनका नेताहरुले भोलि बिहानसम्म सहमतिको प्रयास भइरहेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङलाई आजको रात टार्न दबाब दिइएको स्रोतले जनाएको छ ।