एमसीए नेपालले प्रसारण लाइन परियोजनाको नयाँ ठेक्का खुलाउने, हाललाई सबै ठेक्का रद्द

काठमाण्डौ । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजनाअन्तर्गत बन्ने प्रसारण लाइनको ठेक्का रद्द भएको छ ।

एमसीए नेपालले आज (शुक्रबार) एक सूचना जारी गर्दै एमसीसी परियोजनाअन्तर्गत बन्ने तीनवटा प्रसारण लाइनको ठेक्का रद्द भएको जानकारी दिएको हो । सबै बोलपत्रहरू अनुमानित लागतको तुलनामा धेरै बढी भएको कारणले ठेक्का रद्द गरिएको हो । अब एमसीए नेपालले प्रसारण लाइन परियोजनाको नयाँ ठेक्का खुलाउने छ ।

अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेको थियो । एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो ।

प्रसारण लाइन निर्माणका लागि तीनवटा चरणमा विभाजन गरेर गएको जेठ ८ गते ठेक्का आह्वान भएको थियो । एमसीसी परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा १ सय १७ किमी, रातमाटे–नयाँ दमौली ९० किमी र नयाँ दमौली–नयाँ बुटवल– भारतीय सीमासम्म १ सय ८ किलोमिटर लामो प्रसारण लाइन बनाइने छ ।