इजरायलबाट उद्धार गरिएका २५४ जना नेपाली नागरिक स्वदेश आइपुगे

काठमाण्डौ । नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट इजरायलमा रहेका २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ ।  उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल जानुभएको थियो ।

उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका ५ सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गर्नुभएका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिनुभयो । यस घटनामा परी चार जना नेपाली नागरिक घाइते हुनुभएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्कनुभएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनुभएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहनुभएको मन्त्री साउदले जानकारी दिनुभयो ।

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उहाँहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उहाँको भनाई छ ।