धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा योजना बनाएर काम गर्न जरुरी छ : कृषिमन्त्री भुसाल
काठमाण्डौ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ ।
आज (बिहीबार) ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले नेपालले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको र त्यस लक्ष्यलाई प्राप्त गर्न सबै एकजुट भएर कृषिमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले पनि झन्डै १३ लाख मेट्रिक टन धान, झन्डै चार लाख मेट्रिक टन गहुँ अपुग रहेको बताउनुभयो ।
अबको योजना भनेको धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा छलफल गरी काम गर्न रहेको मन्त्री भुसालले बताउनुभएको छ । उहाँले यो वर्ष कम्तीमा पनि एक लाख मेट्रिक टन क्षेत्रफलमा चैते धान लगाउन र ६ देखि ७ लाख मेट्रिक टनसम्म धान उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री भुसालले पूर्वदेखि पश्चिमका नदी प्रणालीलाई जोड्ने गरी नहर निर्माण गर्न जरुरी रहेको पनि बताउनुभएको छ । यसका लागि बहुउद्देश्यीय योजना बनाएर अघि बढेमात्रै सोचेअनुसारको काम गर्न सकिने उहाँको भनाइ छ ।