मोदीले नेपालको भ्रमण गर्न आउँदा कुनै जानकारी नदिएकोप्रति रवि लामिछानेको टिप्पणी
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ ।
आज (बिहीबार)को प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताउनुभएको हो । उहाँले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको भन्दै टिप्पणी गर्नुभयो । लामिछानेले छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँदा कुनै औपचारिक कार्यक्रमसमेत नभएको बताउनुभयो ।
सभापति लामिछानेले गुन्जी क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्सामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभएको हो ।