एसीसी यू-१९ प्रिमियर कप : नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हरायो
काठमाण्डौ । एसीसी यू-१९ प्रिमियर कपमा इरानलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हराएको हो ।
जितका लागि नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याएको इरान ३० ओभर ५ बलमा ७९ रनमा अलआउट भयो । इरानका आमेर खोर्सन्दले सर्वाधिक ३७ रन बनाएपनि अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।
नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३/३ विकेट लिए । यस्तै हेमन्त धामी र आकाश चन्दले पनि समान २/२ विकेट लिए ।
त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा ३ सय ५३ रनमा अलआउट भएको थियो । नेपालका कप्तान देव खनालले शतक बनाएका छन् । उनी ६० बलमा १०० रन बनाएर आउट भए । देव नेपालबाट १९ वर्षमुनिको क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । यस्तै दीपकप्रसाद डुम्रेले ६९ तथा दीपक बोहोराले ६५ रन जोडे । इरानका सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३/३ विकेट लिए ।