इजरायल आक्रमणमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन अझै केही समय लाग्ने
काठमाण्डौ । इजरायल आक्रमणमा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन अझै केही समय लाग्ने भएको छ ।
आज (बुधवार) परराष्ट्र मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले पहिले इजरायलले नेपाललाई शव हस्तान्तरण गरेपछि मात्रै त्यहाँबाट शव नेपाल ल्याउन सरकारले काम थाल्ने जानकारी दिनुभएको हो । अहिले १० वटै शव इजरायल सरकारले सुरक्षित रूपमा राखेको परराष्ट्र प्रवक्ता लम्सालको भनाई छ ।
इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा नेपाली १० जनाले ज्यान गुमाएका छन् । उनीहरुको शव स्वदेश ल्याउन अझै केही समय लाग्ने भएको छ । यस्तै बेपत्ता रहेका विपिन जोशीको अवस्था अझै थाहा नभएको र खोजी भइरहेको लम्सालले बताउनु भएको छ । घाइते चार जनामध्ये एक जना आज डिस्चार्ज भएका पनि मन्त्रालयले जनाएको छ ।
युद्धग्रस्त क्षेत्रमा खतरामा रहेका एक सय २७ जनालाई सुरक्षित ठाउँमा सारिएको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । मन्त्रालय र इजरायलमा रहेको नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीको रजिस्ट्रेशन खुला गरेकोमा अहिलेसम्म तीन सय ८८ जनाले नाम टिपाएका उहाँले बताउनुभयो ।
नेपाल आउन नाम टिपाएकालाई लिन नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज इजरायल जाने र जहाजले दुई सय ५० जनालाई ल्याउने उहाँले बताउनुभयो । नेपाल आउन चाहनेहरूको सङ्ख्याका आधारमा सरकारले अर्को उडान गर्ने प्रवक्ता सेवा लम्सालको भनाइ छ ।