काभा भलिबल : नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हरायो
काठमाण्डौ । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि जित निकालेको छ ।
आज (बुधबार) दिउँसो श्रीलङ्कामा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हराएको हो । पहिलो सेट जितेको नेपालले दोस्रो र तेस्रो सेट गुमाएको थियो । त्यसपछि चौथो र पाँचौँ सेट जित्दै नेपालले रोमाञ्चक जित हात पारेको हो ।
पहिलो सेट नेपालले २५–१९ ले जित्दा दोस्रो र तेस्रो सेट नेपालले २६–१९ र २५–२२ ले गुमाएको थियो । यस्तै, चौथो र पाँचौँ सेट नेपालले २५–२१ र १५–१० ले जित्यो । प्रतियोगितामा यसअघि भएका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा बङ्लादेशलाई ३–१ ले हराएको नेपाल हिजो (मङ्गलबार) भएको दोस्रो खेलमा आयोजक श्रीलङ्कासँग ३–० ले पराजित भएको थियो ।
अब नेपालले आउँदो शुक्रबार साउदी अरेबियासँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । ६ टोली सहभागी भएको प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ