कानुन समितिले पारित गर्यो सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको प्रतिवेदन
काठमाण्डौ । कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
हिजो (मङ्गलबार) समितिलाई उपसिमितिले बुझाएको उक्त प्रतिवेदनमाथि छलफल गरी आज (बुधबार) समितिले पारित गरेको हो । उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुने गरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति बिमला सुवेदीले बताउनुभयो । उहाँका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट पाँच किलोमिटरको सीमाबाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ ।
तत्कालीन प्रचलित कानुनअनुसार तीन किलोमिटरको सीमाबाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरू कायम राख्ने तर तत्कालीन अवस्थामा तीन किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूको हकमा आउँदो तीन वर्षभित्रमा पाँच किलोमिटरको सीमाबाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको समिति सभापति सुवेदीले बताउनुभयो ।
समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताउनुभएको छ ।