गाजाको सीमावर्ती क्षेत्रका १२७ जना नेपालीको उद्धार, घाइते ४ जनाको स्वास्थ्यमा सुधार

काठमाण्डौ । गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका १२७ जना विद्यार्थीको उद्धार भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले गएराति एक विज्ञप्ति निकालेर जनाएको हो । यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका ४ जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ ।

हराइरहेका १ जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ । यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् । विवरण भरेकाहरुको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया शुरु गरिएको पनि इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।