करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन सकिएन : स्वास्थ्यमन्त्री बस्नेत
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकिएला हटाइएको बताउनुभएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा आज (मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले कोभिड–१९ को बेलामा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताउनुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक सेवाबाट हटाएको थियो । उहाँले भन्नुभयो, “२०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अल्मलिएर बसेको छ । त्यो समस्या चाँडै नै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रक्रिया थालेर समाधान गरिनेछ ।” स्वास्थ्य क्षेत्रमा लामो समयदेखि रहेको दरबन्दी अभावको समस्या छिटै समाधान हुने कुरामा उहाँले जोड दिनुभएको छ ।
मन्त्री बस्नेतले संविधानको मौलिक हकमा उल्लिखित आधारभूत स्वास्थ्य सेवा जनतालाई निःशुल्क गर्ने कुरामा सरकार प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो । नेपालमा स्वास्थ्यकर्मी उत्पादन निकै कम भएकाले त्यसको समाधानस्वरुप यथाशिघ्र चिकित्सा शिक्षा ऐन संशोधन गरिने उहाँको भनाइ छ ।