टिआरसी विधेयकमा सांसदहरुद्वारा २८ वटा संशोधनका प्रस्ताव दर्ता
काठमाण्डौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक, २०७९ मा २८ वटा संशोधनका प्रस्ताव परेको छ ।
सात महिना अघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद सचिवालयमा दर्ता गरेको उक्त विधेयकमा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ११३ अनुसार २८ वटा संशोधनका प्रस्ताव दर्ता भएका हुन् ।
जसमा सत्तारुढ दल नेपाली काँग्रेसका संजय गौतम र राजेन्द्र केसीले संयुक्त रुपमा र छुट्टा छुट्टै रुपमा प्रदिप पौडेल, अर्जुननरसिंह केसी र मैना कार्कीले दर्ता गराएका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद पुर्णबहादुर घर्ती, हितबहादुर तामाङ र रुपा चौधरीले छुट्टा छुट्टै संशोधन दर्ता गराएका छन् ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का मेटमणी चौधरी र भानुभक्त जोशीले संयुक्त रुपमा र छुट्टा छुट्टै रुपमा भानुभक्त जोशी, राजेन्द्र पाण्डे र अम्मरबहादुर थापा, जनता समाजवादी पार्टी (जसपा)का प्रदिप यादव र रेखा यादव तथा जनमत पार्टीका विनिताकुमारी सिंहले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महेश बर्तौला, विद्या भट्टराई र दामोदर बैरागीले संयुक्त रुपमा र छुट्टा छुट्टै रुपमा एमालेकै गोकुल बास्कोटा, रघुजी पन्त, पदम गिरी र भगवती चौधरीले दर्ता गराएका छन् ।
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली, लक्ष्मी तिवारी र अशोककुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही र दिपक सिंह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले छुट्टा छुट्टै रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
२८ वटा संशोधन प्रस्तावमध्ये नेकपा (माओवादी केन्द्र)का सांसद रुपा चौधरी, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र प्रेम सुवालले विधेयकको प्रस्तावनामा नै संशोधन प्रस्ताव दर्ता गराएका छन् । संशोधन प्रस्ताव दर्ता भएको सूचीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पनि नाम पनि रहेको छ ।