इजरायलमा भिसा लागेका २४ जना सहायक कामदारलाई यात्रा नगर्न श्रम मन्त्रालयको आग्रह

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलको यात्रा नगर्न अनुरोध गरेको छ ।

हिजो (सोमबार) बेलुका मन्त्रालयले सूचना निकालेर श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो ।

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय भोलि बुधबार बिहान १ बजे तय भएको थियोे । तर इजरायलमा युद्ध चलिरहेकाले भिसा पाएका २४ जना कामदारलाई त्यहाँको यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

हमास समूहको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ । जोखिमयुक्त क्षेत्रमा रहेका लगभग सबै नेपालीलाई अहिले सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।