प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आब्हान

काठमाण्डौ । आज (सोमबार) साँझ ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ता, राहत लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको विशेष बैठक बोलाइएको हो ।

मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री प्रचण्डले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ ।

यसअघि सरकारले परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षा लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक र्‍यापिड एक्सन टिम गठन गरेको छ । उक्त टीमको बैठकले उद्दार र नेपाली फीर्तिसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ ।

सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ ।