इजरायलमा रकेट आक्रमणमा परि ७ नेपाली विद्यार्थी घाइते

एजेन्सी । इजरायलमा रकेट आक्रमणमा परि ७ नेपाली विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत ७ जना नेपाली विद्यार्थी प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा घाइते भएका बीबीसीले जनाएको छ ।

हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पनि आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको र उनीहरूसहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको पुष्टि गरेको बीबीसीले बताएको छ । साथै ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न पुगेका उनीहरूसहित १७ जना अहिले हमासको घेराबन्दीमा छन् ।

विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको छ । कर्फ्यु लागेका कारण आफूहरू पनि निवासबाट बाहिर निस्किन सक्ने अवस्था नरहेको रिजाललाई उद्यृ्रत गर्दै बीबीसीले बताएको छ । गैरआवासीय नेपाली सङ्घ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले समस्यामा परेका नेपालीलाई दूतावास र सङ्घको सम्पर्कमा आउन आग्रह गरिएको बताए ।

शनिवार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो । हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् । टाइम्स अफ इजरायलले हमासको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको जनाएको छ ।

सयौँ घाइतेमध्ये ७० जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । इजरायली स्वास्थ्य मन्त्रालयले ’प्यालेस्टिनी आक्रमण’ मा अहिलेसम्म ५४५ जना घाइते भएको जनाएको छ । हमासका हतियारधारी व्यक्ति दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायलको भनाइ छ । .