‘रिगल’ आममाफी प्रकरण : भारती मानन्धरको अनसनमा अनेमसंघको ऐक्यबद्धता

काठमाण्डौ । गुन्डा नाइके ‘रिगल’ भनिने योगकुमार ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको विरोधमा अनसनरत मानन्धरकी पत्नी भारती मानन्धरको आन्दोलनमा  एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) ले ऐक्यबद्धता जनाएको छ ।

नेपालगन्जमा खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेको अभियोगमा अदालतको फैसलाबाट जेल सजाय भोगिरहेका गुन्डा नाइके रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले असोज ३ गते संविधान दिवसको दिन आममाफी दिने निर्णय गर्नुभएको थियो ।

उक्त निर्णयको विरोधमा मृतक मानन्धरकी पत्नी भारती माइतीघर मण्डलामा अनशन बस्दै आउनुभएको छ ।

उहाँको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्न अनेमसंघ केन्द्रीय इन्चार्ज सीता पौडेलको नेतृत्वमा अनेमसंघ उपाध्यक्ष द्वय शर्मिला कार्की र सुमित्रा बीसी, सचिवहरू शारदा कुमाल र विना शाह, वाग्मती प्रदेश निवर्तमान सचिव सरस्वती बस्नेत लगायत उपलब्ध केन्द्रीय सदस्य एवम् विभागका सदस्यहरू माइतीघर मण्डलामा पुग्नु भएको थियो । अपराधीलाई छाड्ने सरकारको निर्णयको उहाँहरूले विरोध जनाउनुभएको छ ।

रिगललाई माफी दिएको विरुद्ध भारतीले सर्वोच्च अदालतमा मुद्दा दिनुभएको छ ।  अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दाको पसी नै तोकिसकेको छ ।