एसियाली खेलकुदको महिला भलिबलमा नेपालसँग मङ्गोलिया पराजित
काठमाण्डौ । १९औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपालसँग मङ्गोलिया पराजित भएको छ । आज बिहान भएको खेलमा नेपालले मङ्गोलियालाई ३–२ को सेटमा हराएको हो । यो सँगै नेपालले ११औँ स्थान हासिल गरेको छ ।
नेपालले पहिलो सेट १७–२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो र तेस्रो सेट २५–१८, र २५–२१ ले जितेको थियो । तर, चौथो सेट नेपालले १८–२५ गुमाएपछि खेल पाँचौँ सेटमा पुगेको थियो । निर्णायक तथा पाँचौँ सेट नेपालले १५–१२ ले जित्यो ।
समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग हारेको नेपाल नवौँदेखि १२औँ स्थानको प्ले अफमा भारतसँग ३–१ को सेटमा तथा हङकङसँग ३–० को सेटमा पराजित भएको थियो ।
एसियाली खेलकुदको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो ।