सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारणसहित लिखित जवाफ पेस गर्न सरकारसँग माग
काठमाण्डौ । सर्वोच्च अदालतले व्यक्ति हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।
नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज (बिहीबार) सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको हो ।
यस्तै सर्वोच्चले रिटको टुङ्गो नलागुञ्जेल निवेदक तथा उनका परिवारलाई सुरक्षा प्रदान गर्न गृह मन्त्रालयका नाममा आदेश दिएको छ । यस्तै रिटमा समावेश भएको कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा यसलाई पूर्ण इजलासमै लैजान उपयुक्त भएको पनि आदेशमा उल्लेख छ । यो मुद्दालाई अग्राधिकारमा राखेर असोजको २५ गते नै सुनुवाइ गर्न पनि आदेशमा उल्लेख छ । यो मुद्दामा महान्यायाधिवक्ता आफैँलाई समेत बहसमा उपस्थित गराउन सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ ।