ओलीले उठाउनुभएको सङ्गीन विषयलाई सत्तापक्षका सांसदहरुले दुराशयपूर्ण तरिकाले प्रस्तुत गरे : प्रमुख सचेतक बर्तौला

काठमाण्डौ ।  नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले उठाउनु भएका सङ्गीन विषयहरुलाई संसदभित्र सत्तापक्षका सांसदहरुले दुराशयपूर्ण तरिकाले प्रस्तुत गरेकामा आपत्ति जनाउनु भएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद बर्तौलाले यही असोज १६ गतेको संसद बैठकमा प्रमुख प्रतीपक्षी दलका नेता केपी शर्मा ओलीले महत्वपूर्ण विषयमा सदन मार्फत जनता र सरकारलाई ध्यानाकर्षण गराउनु भएको स्मरण गर्दै उहाँ विरुद्ध अतिरंजित प्रश्न गरेर सदनकै दुरुपयोग भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले संविधान विरोधी, कानुन विपरित र तथ्य विपरीत भएका कामकारवाहीका बारेमा प्रष्ट धारणा राख्नु भएको बताउँदै सांसद बर्तौलाले अहिलेको सरकारले देशमा शान्ति सुव्यवस्था कायम गर्न असफल भइरहेको बताउनुभयो । सांसद बर्तौलाले आजीवन जेलसजाय पाएका व्यक्तिलाई संविधान नै च्यातेर आममाफी दिएको घटना कुनै पनि दृष्टिबाट स्वीकार्य नभएको बताउनुभयो ।

सरकारले फागुन १ गतेलाई महान जनयुद्ध दिवस मनाउने निर्णय गरेकोमा प्रतिपक्षी दलका नेताले विरोध गर्नु भएको छ, र यो जायज छ भन्दै सांसद बर्तौलाले १७ वर्षदेखि नटुंगिएको संक्रमणकालीन न्यायको विधेयकका विषयमा छलफल गर्न हामी तयार नै रहेको अवस्थामा एकाएक एक पक्षीय रुपमा फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरिएको बताउनुभयो ।