मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन एमाले बाहेकका अन्य शक्तिले सक्दैन : अध्यक्ष ओली

काठमाण्डौ । मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।

विराटनगरमा आज आयोजित एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई विकासको बाटोमा अघि बढाउन अन्य शक्तिले नसक्ने दाबी गर्नु भएको हो । साथै उहाँले त्यसका लागि मिसन २०८४ अनुसार जित्न आवश्यक भएको बताउनुभयो ।

एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरू नभएको पनि अध्यक्ष ओलीको दाबी थियो । उहाँले आफ्ना विरोधीले एमालेलाई विभाजन गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको बताउनुभएको छ । ओलीले त्यस्ता सपनाहरू एमालेभित्र कहिल्यै सफल नहुने दाबी गर्नुभयो ।

यस्तै अध्यक्ष ओलीले नवनिर्वाचितहरूलाई शुभकामना दिदै त्यस अनुसारको जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै उहाँले जित्ने, नजित्ने सबैलाई मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो ।