कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले असोज १९ गते विश्वासको मत लिने

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज १९ गते शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मतबारे समेत छलफल भएको बताइएको छ ।

सभाको चौथो अधिवशेन आज सुरु हुँदै छ । यसमा सरकारले दोस्रो पटक जारी गरेको आर्थिक र विनियोजन अध्यादेश टेबल गर्ने कार्यसूची तय गरिएको नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।

शनिबार परेकाले मुख्यमन्त्रीले असोज १९ गते नै विश्वासको मत लिने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा स्थानीय सेवाको गठन, संचालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि टेबुल गर्ने तय भएको बताइएको छ ।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । २० गते शनिबार परेकोले त्यो दिन बैठक राख्ने/नराख्ने भन्ने प्रदेशसभाले टुंगो लगाइसकेको छैन । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सूचना सभामा दर्ता गराउन भने बाँकी छ ।