स्थायी हुन नसकेका अस्थायी करार श्रमिकको लागि उपदानको व्यवस्था माग
काठमाण्डौ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले अस्थायी करार ज्यालादारी कर्मचारीलाई उमेर हदबन्दी नलगाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्नुपर्ने माग गरेको छ । संघले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई ध्यानाकर्षण गराउँदै स्थायी हुन नसकेकाको लागि उपदानको व्यवस्था गर्न माग गरेको हो ।
संघका अध्यक्ष काशीराज श्रेष्ठ र महासचिव यदुनाथ न्यौपानेले जारी गरेको ध्यानकर्षण पत्रमा, २०५६/२०५७ सालदेखि लोकसेवा आयोगबाट श्रेणि विहीन पदमा स्थायी पदपूर्ति नभएको एवम् विभिन्न पदमा काम गरिरहेका अस्थायी करार ज्यालादारी कर्मचारीलाई उमेर हदबन्दी नलगाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्नुपर्ने उल्लेख छ । स्थायी हुन नसकेकाको लागि उपदानको व्यवस्था गर्न पनि पत्रमार्फत माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा अस्थायी करार ज्यालादारी कर्मचारीको सेवा सुविधा सम्बन्धी व्यवस्था संघीय निजामती सेवा ऐनमा स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरिएको छ । यसैगरी सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा सम्पूर्ण अस्थायी करार ज्यालादारी कर्मचारीलाई तत्काल समावेश गर्न पनि संघले ध्यानाकर्षण गराएको छ ।
सर्वोच्च अदालतबाट २०७० माघ ९ गते अस्थायी करार ज्यालादारी कर्मचारीले राज्यलाई सेवा गरे बापत कुनै न कुनै रूपमा क्षतिपूर्ति स्वरूप उपदानको व्यवस्था गर्न उचित हुने निर्देशनात्मक आदेश दिएको स्मरण गराउँदै संघले २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयमा सेवा सुविधा सम्बन्धमा कानुन बनाई सम्बोधन गरिनेछ भनेकोमा पटक–पटक ज्ञापन पत्र र ध्यानाकर्षण पत्र पेस गर्दा पनि आफ्ना मुद्दालाई सम्बोधन नगरेको जनाएको छ ।