आज बागमती प्रदेश सभा बैठक बस्दै

काठमाण्डौ ।  बागमती प्रदेश सभाको बैठक आज (बुधबार) दिउँसो ४ बजे बजेका लागि बोलाइएको छ ।

गत सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विवादास्पद चिट्ठा विधेयकको विरोध जनाएको थियो । एमालेले विधेयकको विरोध जनाएपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि बैठक स्थगित गर्नु भएको थियो ।

पछि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर मंगलबार बैठक नै नबसी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको थियो । चिट्ठा विधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिनु भएको थियो ।

गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त विधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाउनु भएको थियो । तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि बैठकमा विवाद भएको थियो ।