भूकम्पका कारण बझाङ र अछाममा गरी ७ जना घाइते

काठमाण्डौ । भूकम्पका कारण बझाङ र अछाममा गरी ७ जना घाइते भएका छन् । आज (मङ्गलबार) दिउँसो चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण बझाङमा ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पका कारण सुदूरपश्चिमका अन्य जिल्लाहरूमा समेत धक्का महसुस भएको छ । जसअनुसार अछाममा पनि एक जना घाइते भएका हुन् ।

बझाङ सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरीले जानकारी दिनुभयो । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा गाडी आवतजावत ठप्प भएको हो । भूकम्पबाट क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।