श्रीमान्को हत्यारालाई कारबाहीको माग गर्दै भारती काठमाण्डौमा, सर्वोच्चमा रिट दायर

काठमाण्डौ । संविधान दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट रिगल भनिने योग ढकाललाई आममाफी दिएको निणर्यविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगललाई राष्ट्रपति पौडेलले आममाफी दिएका थिए ।

भारतीले दायर गरेको रिट केही दिनअघि दर्ता भएपनि प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

आफ्ना श्रीमान्का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती यतिबेला नेपालगञ्जबाट काठमाडौं आइपुगेकी छिन् ।